वडाले दियो किसानलाई नि:शुल्क धानको बीउ

झापा । किसानहरूले महंगो शुल्क तिरेर पनि आफुले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएका गुनासो गरिरहेका छन् ।

तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफुले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएका छन् ।

मेचीनगर ८ वडा कार्यालयले नि:शुल्क उन्नत जातको धानको बीउ वितरण गरेसंगै सो वडाका किसानहरूले सहजरूपमा आफुले चाहेको धानको बीउ पाएका हुन् ।

यतिबेला किसानहरूलाई धानको बीउ छर्ने चटारो छ । मानो रोपेर मुरी फलाउने समयमा मेचीनगर ८ वडा कार्यालयले वडाका दुई सय बढी किसानलाई प्रति कठ्ठा दुई केजीका दरले आवश्यक जग्गा अनुसारको उन्नत जातको धानको बीउ वितरण गरेको मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

काेराेनाकाे महामारीले यतिबेला सबै व्यवसायलाई चौंपट पारेको छ । अहिलेको विषम् परिस्थितिमा सबै भन्दा भरपर्दो पेशा भनेको कृषि नै बनेको छ, मेचीनगर ८ का वडा सदस्य सन्तोष मेचेले भने, त्यसैले हामीले आफ्ना वडाबासीलाई कृषिमा आत्मानिर्भर बनाउन उन्नत जातको धानको बीउ सबैको पहुचमा पुग्नेगरि वितरण गरिएको बताए ।