नेपालद्वारा चाईनिज ताईपे २-० ले पराजित

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो ।

नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । पेनाल्टीको अवसरलाई अन्जनले कुनै खेर फालेनन् र नेपालले १-० गोलको अग्रता बनायो ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

नेपालले स्पस्ट जीतको खोजीमा रहँदा दोस्रो हाफको ३७औँ मिनेटको समय पर्खिनु परेको थियो । जसमा नवयुग श्रेष्ठ भाग्यमानी सावित भए । उनी सब्स्च्यिूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर थियो ।

जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

चाईनिज ताईपेको यो छैटौं हार हो । अंकविहीन ताईपे तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।