गोर्खा ब्वाइजलाई हराउँदै पञ्जाव पुलिस क्वार्टरफाइनलमा

विराटनगर । भारतीय क्लब पञ्जाब पुलिसले विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ । शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो ।

विराटनगरस्थित सहिद रङ्गशालामा निर्धारित समय गोल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । ट्राइबेकरमा पञ्जाब पुलिसले गोर्खा ब्वाइजमाथि ४-२ गोलको जित निकालेको हो ।

ट्राइबेकरमा गोर्खा ब्वाइजका आशिष गुरुङको प्रहार असफल भएको थियो । अजित गुरुङकाे प्रहार पनि असफल भयो । शक्ति राईले भने गोल गरे । गाैरव श्रेष्ठले पनि गोल गरे ।

पञ्जाबका सरजित सिंहले गोल गरे । जितेन्द्र सिंहले पनि गोल गरे । बलजित सिंह पनि गोल गरे । अर्शदीप सिंहको प्रहारले पनि गोलको जाली चुम्यो ।

त्यसअघि खेलको पहिलो हाफ गार्खा ब्वाइज र पञ्जावले गोलरहित बराबरी खेलेका थिए । खेलको ८०औँ मिनेटमा शक्ति राईले गोल गर्दै गोर्खा ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा जितेन्द्र सिंहले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकियो ।

यससँगै पञ्जाबले क्वार्टरफाइनलमा स्थान बनाएको छ । अब उसले काठमाडौँको मछिन्द्र क्लबसँग खेल्नेछ । पञ्जाब क्वार्टरफाइनल पुग्ने दोस्रो टिम बनेको छ । यसअघि उद्घाटन खेलमा भारतको सिक्किम युनाइटेडलाई हराउँदै विराटनगर–११ क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

अब शनिबार हुने विराटनगर महानगरपालिका र भारतको वेस्ट बङ्गालबीचको खेल हुनेछ । उक्त खेल साँझ ६ः३० बजेबाट नै सुरु हुनेछ ।

बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् ।

नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् । विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।